१८ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

कोशी प्रदेश : एमाले बैठक विना निष्कर्ष टुंगियो

कोशी प्रदेशमा एमाले भित्रको विवाद समाधानका लागि सोमबार विराटनगरमा बसेको बैठक विना निष्कर्ष टुंगिएको छ।

नेकपा एमाले कोशी प्रदेश कमिटीका पदाधिकारीहरू र प्रदेश सभाका सांसदहरू सहितको बैठक विना निष्कर्ष टुंगिएको हो। 

एमाले जिल्ला पार्टी कार्यालय पाञ्चाली विराटनगरमा सोमबार दिउँसो बसेको बैठकमा विवादका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

बैठकका विषयमा नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेशमा देखिएको गाँठो केहि दिनभित्रै खुल्ने प्रतिक्रिया दिए।

पार्टीको निर्देशन सबैले मान्ने बताउँदै उनले केन्द्रमा भएको तीन बुँदे सहमति र पार्टी अध्यक्षको निर्देशनअनुसार कोशीको विवाद पनि एक साताभित्रै समाधान हुने दाबी गरे। उनले भने,‘एउटा सानो गाँठो परेको छ। त्यो गाँठो केन्द्रमा भएको तीन बुँदै सहमति र पार्टी अध्यक्षको निर्देशनअनुसार एक साताभित्रै फुक्छ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्वोलाई मुख्यमन्त्री बनाउने गरी पार्टी केन्द्रीय सविसमेत रहेका कोशी प्रदेश इन्चार्ज शेरधन राईलाई प्रदेशको विवाद मिलाउन खटाएका छन्।

अध्यक्ष ओलीको निर्देशनअनुसार खटिएका राईले हिक्मतकुमार कार्कीलाई मार्ग प्रशस्त गर्न आग्रह गरे पनि कार्कीले अस्वीकार गरेपछि कोशी प्रदेशको विवाद सतहमा आएको हो। 

एमाले कोशी प्रदेश कमिटीले आयोजना गरेको बैठकमा सहभागी मुख्यमन्त्री कार्कीले आफू निर्विकल्प नभए पनि अहिलेको अवस्थामा आफूनै कोशीको मुख्यमन्त्रीका लागि उपयुक्त पात्र भएको स्पष्ट पारे। उनले अहिले आफू नै मुख्यमन्त्री रहेको र कोशीको मुख्यमन्त्रीमा आफ्नै निरन्तरता हुने दाबी समेत गरे।

प्रकाशित: १८ श्रावण २०८३ १८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App