७ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

पाटनको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका प्रदान

ललितपुरको ऐतिहासिक पाटन दरबारको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका र जमारा प्रदान गरिएको छ ।

बडादशैंको टीकाको चौथो दिन आज त्रयोदशीका दिन जीवित देवी कुमारीको हातबाट टीका र जमारा ग्रहण गरेसँगै पाटनको नेवारी समुदायमा औँपचारिक रूपमा दशैंको टीका विसर्जन भएको छ ।

नेवारी समुदायमा बडादशैंको विजयादशमीका दिनसमेत जीवित देवी यल कुमारीको हातबाट टीका र जमरा ग्रहण गर्ने विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ ।

पाटनकी जीवित देवी कुमारीलाई तलेजु भवानीको प्रतीकका रूपमा श्रद्धा गरिन्छ ।

परम्पराअनुसार विजयादशमीका दिन सुरुमा कुमारी घरका मूल पुजारी, गुभाजु तथा स्थानीय नाइकेले कुमारीको हातबाट टीका र जमरा ग्रहण गर्ने गर्छन् । त्यसपछि सर्वसाधारण भक्तजनका लागि टीका ग्रहण गर्ने अवसर खुला गरिने परम्परा रहेको छ ।

कुमारीको हातबाट टीका र जमरा ग्रहण गर्दा सुख, शान्ति, समृद्धि प्राप्त हुने तथा अनिष्टबाट रक्षा हुने धार्मिक जनविश्वास छ ।

पाटनको यल कुमारीसँग जोडिएको यो परम्पराले उपत्यकाको मौलिक नेवार संस्कृति, धार्मिक आस्था र ऐतिहासिक सम्पदाको महत्त्वलाई उजागर गर्छ । पुस्तौँदेखि चलिआएको यस्तो परम्पराले स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त राख्न योगदान पुर्‍याउँदै आएको छ ।

मल्लकालीन समयदेखि चल्दै आएको यो परम्परा पाटनको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक पहिचानमध्ये एक हो । बडादशैंको महानवमी र विजयादशमीका दिन तलेजु भवानीको विशेष पूजा र शक्ति आर्जनको विधि सकिएपछि त्रयोदशीको दिन कुमारी देवगृहबाट बाहिर निस्केर आमनागरिकलाई आशिर्वाद दिने परम्परा रहेको छ ।

ललितपुरको सांस्कृतिक गरिमालाई झल्काउने कुमारीको दर्शन पाउन र टीका थाप्न साँझ पाटन दरबार क्षेत्रमा दर्शनार्थीहरूको लामो लाम लागेको थियो । 

प्रकाशित: ७ कार्तिक २०८३ २१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App