श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गरिने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयले पहल गरे पनि सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले अब परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न लागिएको जानकारी दिए ।
हाल नेपालले १३ देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको भए पनि नेपाली श्रमिक १७८ देशमा पुगेको उल्लेख गर्दै उनले वैदेशिक रोजगार प्रक्रियामा हुने आर्थिक ठगी र श्रम शोषण नियन्त्रणका लागि सरकार सक्रिय रहेको बताए ।
मन्त्री यादवका अनुसार विदेश जाने नेपालीमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेका छन् । उनले महिला घरेलु श्रमिकहरू गैरकानुनी बाटोबाट विदेश जाने क्रम बढेकाले समस्या पर्दा राज्यले प्रभावकारी हस्तक्षेप गर्न कठिन भइरहेको बताए ।
पछिल्लो समय विभिन्न युद्ध तथा द्वन्द्वका कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकको शव स्वदेश ल्याउन ढिलाइ भएको उल्लेख गर्दै अब त्यस्तो अवस्था दोहोरिन नदिने उनको भनाइ थियो ।
बैठकमा समिति सदस्यहरूले वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी र शोषणबाट जोगाउन सरकार थप गम्भीर हुनुपर्ने सुझाव दिएका थिए । समिति सभापति रहबर अन्सारी ले यसअघि समितिबाट दिइएका निर्देशन तथा सुझाव मन्त्री यादवलाई हस्तान्तरण गरेका थिए ।
प्रकाशित: २४ वैशाख २०८३ १६:१६ बिहीबार





