३० वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढाउने तयारी

सुकम्बासी बस्ती खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहावक्षेत्र बढाउने तयारी सरकारले गरेको छ ।  

सहरी विकास मन्त्रालय मातहतको एकीकृत बाग्मती सभ्यता विकास समितिका सदस्य सचिव मच्चाकाजी महर्जनका अनुसार यतिबेला हटाइएका बस्तीमा भग्नावशेषहरू पन्छाउने काम भइरहेको छ ।  

‘खाली गरिएका बस्तीमा हाल इँटा, ढुगाँ, बालुवा, कंक्रिट जस्ता गेग्य्रान पन्छाउने काम भइरहेको छ । थापाथलीमा करिब–करिब पन्छाइसकेका छौं । यतिबेला गैरीगाउँ, शान्तिनगर, तथा वंशीघाटमा पन्छाउने काम भइरहेको छ’, महर्जनले भने, ‘जुन ठाउँमा गेग्य्रान छ, त्यही ठाउँमा त्यसलाई व्यवस्थापन गर्ने हाम्रो योजना हो । अन्य ठाउँमा लैजानुभन्दा त्यही ठाउँमा राम्रोसँग व्यवस्थापन गर्ने गरिरहेका छौं ।’  

उनका अनुसार मनोहराको  हकमा भने काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत जग्गा एकीकरण विकास आयोजनाले गेग्य्रान पन्छाउने र अन्य व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ ।  

महर्जनले भने, ‘गेग्य्रान पन्छाइसके पछि हामीले पार्क बनाउछौं । हरियाली क्षेत्र बढाउँछौं । नदीको बहाव क्षेत्र कम भएको ठाउँमा बहाव क्षेत्र बढाउछौं । कोरिडार नपुगेको ठाउँमा करिडोर पुर्‍याउँछौँ ।’ उनका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को सुरुवातबाटै पार्क तथा नदीको बहाव बढाउने काम सुरु हुने बताए । ‘अहिले त्यसका लागि तयारी भइरहेको छ’, उनले भने, ‘केही ठाउँमा ढल निकासको पनि काम गर्नेछौं ।’  

सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हटाइएका सुकुम्बासीलाई बनेपा, नगरकोट, इचंगुनारायणमा लगेको छ । विकास समितिका अनुसार बनेपामा एक सय २०, नगरकोटमा ४९ र इचंगुनारायणमा ९३ जनालाई लगिएको छ । यसैगरी बालाजुका विभिन्न होटलमा २००, राधा स्वामी सत्सङ हलमा २०० तथा भक्तपुर बोडेस्थित कृषि तालिम केन्द्रमा ६० जना सुकुम्बासीलाई राखिएको छ । यसबाहेक अन्य सुकुम्बासी आफ्नो–आफ्नो हिसाबबाट अन्य ठाउँमा गएको विकास समितिका कर्मचारीहरूको भनाइ छ ।  

सुकुम्बासीको अवस्था बुझ्न र तत्काल समस्या सामाधान गर्न विकास समितिका कर्मचारी नेत्रमणि न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । सुकुम्बासी बस्ती खाली गर्ने क्रममा सरकारले काठमाडौं उपत्यकामा दुई हजार ६ सय ८७ घर–टहरामा डोजर चलाएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार डोजर चलाउँदा हटाइएका संरचनामध्ये आठ सय ९० पक्की र एक हजार सात सय ९७ कच्ची घरटहरा थिए ।  

प्रशासन कार्यालयले दिएको जानकारी अनुसार सुकुम्बासी बस्ती खाली गर्ने अभियानमा काठमाडौं उपत्यकाका १९ वटा सुकुम्बासी बस्ती खाली गराइएको छ । विवरण अनुसार बस्ती हटाउने अभियानबाट कुल १५ हजार तीन सय १६ जना विस्थापित भएका छन् । विस्थापितमध्ये ६ हजार आठ सय ५८ पुरुष, पाँच हजार तीन सय २५ महिला, एक हजार चार सय ३७ बालक र एक हजार ६ सय ९६ बालिका रहेको प्रशासन कार्यालयले जनाएको छ । करिब दुई हप्ता अघिदेखि  सरकारले विभिन्न चरणमा  काठमाडौं उपत्यका लगायत देशभरि विभिन्न ठाउँमा डोजर चलाउन सुरु गरेको छ । अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान अझै जारी छ ।  

विस्थापित सुकुम्बासीहरू अहिले विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा राखिएका छन् । केही सुकुम्बासी होटलमा बसेका छन् । केही भने अर्को ठाउँमा डेरा सरेर गएका छन् ।  

२०६८ सालमा अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले अध्ययन गरी तयार पारेको प्रतिवेदनमा काठमाडौं उपत्यकामा तीन हजार चार सय ९६ सुकुम्बासी परिवार रहेको उल्लेख छ । प्रतिवेदनमा काठमाडौंमा मात्र दुई हजार दुई सय ४५ सुकुम्बासी परिवार रहेको विवरण राखिएको थियो । त्यसयता सुकुम्बासी परिवारको संख्या बढेर ६ हजार हाराहारी पुगेको अनुमान गरिएको थियो ।  

प्रतिवेदनमा थापाथली, सिनामंगल, गैरीगाउँ, शंखमूल, बल्खु, कपन, गोठाटार, कागेश्वरी, मनोहरा टोल, धोबीखोला किनार र विष्णुमती नदी किनारालगायत २२ ठाउँमा सुकुम्बासी बस्ती भएको पहिचान गरिएको छ । यसैगरी काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार प्राधिकरणको तथ्यांक अनुसार थापाथलीमा एक सय ४३, गैरीगाउँमा एक सय ६२, गोठाटारमा ७७, शान्तिनगरमा चार सय ७६ र मनोहरा टोलमा १३ गरी कुल आठ सय ७१ परिवार बस्थे । ती सबै बस्तीमा डोजर चलिसकेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका अनुसार इचंगुनारायणमा रहेको अपार्टमेन्टले मात्र अब वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्न सकिने अवस्था छैन । त्यहाँ हाल ४० परिवार ( ९३ जना व्यक्ति) बस्ने गरेका छन् । ‘त्यसैले सुकुम्बासीका लागि काठमाडौं उपत्यकामा राख्न अन्य विकल्पमा छलफल भइरहेको छ’, विभागका एक कर्मचारीले भने ।

प्रकाशित: ३० वैशाख २०८३ २१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App