२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

विश्वकपले बदलेको भविष्य

विश्व खेलकुदमा फिफा विश्वकप फुटबलको सबैभन्दा ठूलो मञ्च हो। किनकि यहाँ गोल, रोमाञ्च, नाटकीय क्षण र अविस्मरणीय कथा जन्मिन्छन्। साथै विश्वभरका खेलप्रेमीको नजरमा पनि विश्वकप फुटबल पर्ने गर्छ तर विश्वकप केवल उपाधिका लागि मात्र होइन, खेलाडीको करिअर बदल्ने सबैभन्दा ठूलो अवसर पनि बन्न सक्छ।

हालै केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि चिलीको प्रतिष्ठित क्लब कोलो–कोलोमा स्थान बनाए। यो स्थानान्तरणले फेरि एकपटक विश्वकपले खेलाडीको भविष्य नै परिवर्तन गर्न सक्ने शक्ति राख्छ भन्ने प्रमाणित गरेको छ।

४० वर्षको उमेरमा पोर्चुगलको दोस्रो डिभिजनबाट चिलीको सबैभन्दा सफल क्लबसम्मको भोजिन्हाको यात्रा असाधारण छ तर विश्वकपको प्रदर्शनका आधारमा ठूलो क्लबमा पुगेका उनी पहिलो खेलाडी भने होइनन्। विगतमा पनि धेरै खेलाडीले विश्वकपमा चम्किएपछि आफ्नो करिअरलाई नयाँ उचाइ दिएका छन्।

क्यामरुनका मिडफिल्डर मार्क भिभियन फो १९९४ को विश्वकपअघि खासै परिचित नाम थिएनन्। अमेरिकामा भएको त्यो विश्वकपमा क्यामरुनले १९९० जस्तो ऐतिहासिक सफलता दोहोर्‍याउन नसके पनि फो टोलीका उत्कृष्ट खेलाडीमध्ये एक बने।

 विशेष गरी ब्राजिलविरुद्धको उनको प्रभावशाली प्रदर्शनले युरोपेली क्लबहरूको ध्यान तान्यो। त्यसपछि उनी क्यामरुनको क्यानोन याउन्डेबाट फ्रान्सेली क्लब लेन्समा निःशुल्क अनुबन्धित भए।

लेन्समा चार वर्ष बिताएका फोले १९९७–९८ सिजनमा क्लबलाई इतिहासकै पहिलो लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले। त्यसपछि उनले इङ्ल्यान्डका वेस्ट ह्याम युनाइटेड र म्यानचेस्टर सिटी तथा फ्रान्सेली क्लब लियोनबाट पनि खेले। लियोनबाट उनले फ्रेन्च लिग कप र क्लबको पहिलो लिग–१ उपाधि जिते।

तर सन् २००३ मा कोलम्बियाविरुद्धको कन्फेडेरेसन कप सेमिफाइनलका क्रममा मैदानमै ढलेपछि उनको दुःखद निधन भयो।

सन् २००२ मा दक्षिण कोरिया र जापानमा भएको विश्वकप ब्राजिलका गिल्बर्टो सिल्भाको पहिलो विश्वकप थियो। त्यति बेला २५ वर्षीय सिल्भा एट्लेटिको मिनेइरोबाट ब्राजिलको शीर्ष डिभिजन खेलिरहेका थिए।

ब्राजिलका कप्तान इमर्सन चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि मात्र सिल्भाले पहिलो रोजाइमा अवसर पाए। उनले त्यस अवसरलाई पूर्ण रूपमा सदुपयोग गर्दै लुइज फेलिप स्कोलारीको टोलीका लागि प्रतियोगिताका सबै खेलको प्रत्येक मिनेट खेले र विश्वकप विजेता बने।

त्यसपछि उनको उत्कृष्ट प्रदर्शनले प्रिमियर लिग च्याम्पियन आर्सनलको ध्यान तान्यो। करिब ४.५ मिलियन पाउन्डमा उनी आर्सनल पुगे।

‘द इन्भिजिबल वाल’ उपनामले परिचित रक्षात्मक मिडफिल्डर सिल्भाले उत्तर लन्डनमा छ वर्ष बिताए। त्यस क्रममा उनले दुई एफए कप जिते र २००३–०४ सिजनमा कुनै खेल नहारी प्रिमियर लिग जित्ने आर्सनलको ऐतिहासिक ‘इनभिन्सिबल्स’ टोलीका प्रमुख सदस्य बने।

सन् २००६ को विश्वकपमा अर्जेन्टिनाका २२ वर्षीय हाभियर मास्चेरानोले पनि आफूलाई विश्व फुटबलमा स्थापित गरे। उनले अर्जेन्टिनालाई क्वार्टरफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले।

ब्राजिलको कोरिन्थियन्सबाट खेलिरहेका मास्चेरानो विश्वकपपछि पनि क्लबमै रहेर रेलिगेसनको लडाइँमा सहयोग गर्न चाहन्थे। तर अन्ततः उनी राष्ट्रिय टोलीका सहकर्मी कार्लोस टेभेजसँगै वेस्ट ह्याम युनाइटेड पुगे।

वेस्ट ह्याममा छोटो समय बिताएपछि उनी २००७ मा लिभरपुलमा आबद्ध भए। त्यहाँ उनले २००७ को च्याम्पियन्स लिगको फाइनल खेले।

पछि २०१० मा बार्सिलोनामा पुगेका मास्चेरानोले दुई पटक च्याम्पियन्स लिग र पाँच पटक ला लिगाको उपाधि जित्दै विश्वकै सफल डिफेन्सिभ मिडफिल्डरमध्ये एकको रूपमा आफूलाई स्थापित गरे।

सन् २०१० को विश्वकपमा जर्मनीका केवल २१ वर्षीय मेसुट ओजिल विश्व फुटबलका सबैभन्दा रोमाञ्चक युवा प्रतिभामध्ये एकका रूपमा उदाए। उनले जर्मनीलाई तेस्रो स्थान दिलाउन चार गोल र चार असिस्ट गर्दै सात खेलमा उत्कृष्ट प्रदर्शन गरे।

विश्वकपपछि युरोपका ठूला क्लबहरू उनको पछि लागे। अन्ततः अगस्ट २०१० मा उनले करिब १५ मिलियन युरोमा वेर्डर ब्रेमेन छाडेर रियाल मड्रिडको यात्रा तय गरे। मड्रिडमा उनले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जिते। त्यसपछि २०१३ मा ४२.४ मिलियन पाउन्डमा आर्सनल पुगेका उनी त्यति बेला क्लब इतिहासकै सबैभन्दा महँगा खेलाडी बने।

सन् २०१४ को विश्वकपमा कोलम्बियाका जेम्स रोड्रिगेज विश्व फुटबलका सबैभन्दा चर्चित खेलाडीमध्ये एक बने। उनले प्रतियोगितामा छ गोल गर्दै गोल्डेन बुट जिते र कोलम्बियालाई क्वार्टरफाइनलसम्म पुर्‍याए।

उरुग्वेविरुद्ध गरेको उनको अद्भुत भली गोल विश्वकपकै उत्कृष्ट गोलका रूपमा फिफाको वेबसाइटमा ४० लाखभन्दा बढी मत पाएर चयन भयो। सोही गोलका लागि उनले वर्षको उत्कृष्ट गोल दिइने फिफा पुस्कास अवार्ड पनि जिते।

विश्वकपपछि रियाल मड्रिडले करिब ७५ मिलियन युरोमा मोनाकोबाट उनलाई अनुबन्धित गर्‍यो। त्यसपछि उनले रियालबाट दुई च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जिते।

अन्त्यमा फेरि भोजिन्हाकै चर्चा।

स्पेनसँग समूह चरणमा बराबरी खेल्दै केप भर्डेलाई इतिहासकै पहिलो विश्वकप अंक दिलाएपछि उनी समर्थकमाझ ‘कल्ट हिरो’ बने। विश्वकपका क्रममा उनको इन्स्टाग्राम फलोअर संख्या ५० हजारबाट झन्डै तीन करोड पुगेको छ।

केप भर्डेलाई नकआउट चरणसम्म पुर्‍याउन उनले निर्णायक भूमिका खेले। अन्ततः उपविजेता अर्जेन्टिनालाई पनि अन्तिम ३२ मा अतिरिक्त समयसम्म संघर्ष गर्न बाध्य बनाए।

उत्कृष्ट प्रदर्शनकै कारण उनी फिफाको ‘टोली अफ द टुर्नामेन्ट’ मा परे। यति मात्र होइन, वैज्ञानिकहरूले हालै पत्ता लगाएको समुद्री स्लगको नयाँ प्रजातिलाई समेत उनको नाम दिइएको छ।

भोजिन्हाले आफ्नो करिअरमा स्लोभाकिया, अंगोला, मोल्डोभा, साइप्रस र पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेसबाट खेले तर उनी सधैं आफूलाई ‘ठूलो क्लबका लागि बनेको खेलाडी’ मान्थे।

अब चिलीको शीर्ष डिभिजनमा सर्वाधिक ३४ लिग उपाधि र १४ कोपा चिले जितेको कोलो कोलोमा पुगेपछि उनले यसलाई आफ्नो करिअरकै सबैभन्दा ठूलो उपलब्धि अर्थात् ‘हाइलाइट’ बताएका छन्।

प्रकाशित: २२ श्रावण २०८३ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App