रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति सुदूरपश्चिम विश्वविद्यालयले दुःख व्यक्त गर्दै बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
विश्वविद्यालयको भदौ १३ गते बसेको कार्यकारी परिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब ८८ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम विश्वविद्यालय र मातहतका निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको पारिश्रमिकबाट निश्चित दिन बराबरको रकम कट्टा गरी संकलन गरिनेछ।
रजिस्ट्रारको कार्यालयका अनुसार उपकुलपतिको एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ। त्यस्तै, प्राध्यापक, सहप्राध्यापक, सहप्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट १० दिनको तलब कट्टा गरिनेछ।
उपप्राध्यापक, उपप्रशासक, सहायक प्रशासक, शिक्षण सहायक, प्रशिक्षक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट सात दिनको तलब, मुख्य सहायक, सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिनको तलब तथा श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब कट्टा गरिने विश्वविद्यालयले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०८३ १४:२३ शनिबार


-600x400.jpg)
-600x400.jpg)

